Sagun Khabar
पत्रकार महासंघको भवन भत्काउने कार्यप्रति प्रदेश समितिको आपत्ती 

बैतडी–नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आपत्ति जनाएको छ ।

बिहीबार जानकारी तथा सूचना विना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर भवनमा क्षति पुर्याएको घटनाप्रति महासंघले विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएको हो ।

महासंघका प्रदेश अध्यक्ष योगेश रावलद्वारा हस्तारक्षित विज्ञप्तीमा भनिएको छ  ‘प्रेस स्वतन्त्रताको रक्षा गर्दै नागरिकको सूसुचित हुन पाउने अधिकार सुरक्षाका लागि अहोरात्र खटिने पत्रकारहरुको साझा संस्था महासंघको भवन भत्काउने जस्तो निन्दनीय कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको महासंघले ठहर गरेको छ।’

घटनाको सत्यतथ्य छानबीन गरी तत्काल दोषीमाथि कारवाही गर्न पनि महासंघको प्रदेश समितिले आग्रह गरेको छ । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update