कैलाली –कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या घटनामा जिल्ला अदालतले १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहितका ६ जनालाई जिवित रहेसम्म जन्मकैद हुने फैसला गरेको छ ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायले प्रतिवादी रावलसहित आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाही गरी ६ जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म जन्मकैद सजाय हुने ठहर गरेको जानकारी दिए ।
उनकाअनुसार प्रतिवादी मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ (१) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ भने अदालतले लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई समेत अभियोग दाबी बमोजिम जन्मकैदको सजाय हुने ठहर गरेको छ ।
प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोग दाबीबाट पूर्ण रूपमा सफाइ हुने अदालतले जनाएको छ ।
यो मुद्दामा सुरूदेखि फरार प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।
कसुर ठहर भई सजाय तोकिएका १३ जना प्रतिवादीहरूले संयुक्त रूपमा रु १५ लाख पीडितलाई दामासाहीका आधारमा क्षतिपूर्ति दिनुपर्ने आदेश पनि भएको छ ।
उनीहरूबाट कानुन बमोजिम जनही दुई हजार आठ सयका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ ।
बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।
२६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।




