Sagun Khabar
राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा चार जनाको उम्मेदवारी दर्ता 

कैलाली – राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा चार जनाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त दुई सीटका लागि नेपाली काँग्रेस र एमाले गठबन्धनबाट दुई जना र नेपाली कम्युनिष्ट पार्टीबाट दुई जना गरी चार जनाको उम्मेदवारी दर्ता भएको हो । 

काँग्रेस –एमाले गठबन्धनबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेबाट लीलाकुमारी भण्डारीको उमेदवारी दर्ता भएको  छ । खातीको प्रस्तावकमा काँग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाही र नेकपा एमालेका प्रदेश सभा सदस्य चक्रबहादुर मल्ल समर्थक रहेका छन् ।

यस्तै लीलाकुमारी भण्डारीको उमेदवारीमा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठक प्रस्तावक र एमालेकै प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापा समर्थक रहेका छन ।

यस्तै नेकपाले महिला समूहबाट साविकको नेकपा एकीकृत समाजवादी निकट रहेकी रोजी बस्तेत सुनार र अन्य समूहबाट माओवादी निकट रहेका ब्यवसायी टीकाराम जैशीको उम्मेदवारी दर्ता गराएको छ । 

सुदूरपश्चिमा महिला समूहबाट एकजना र अन्य समूहबाट एकजनाको पद रिक्त थियो । महिला समूहबाट शारदा भट्ट र अन्य समूहबाट तारामान स्वाँरको पदावधी सकिन लागेको हो । दुवै जना ६ वर्ष अघि नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update