कैलाली –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा चार दलले सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीमा सुदूरपश्चिमका ३६ जना उम्मेदवार अटाएका हुन् ।
पार्टीहरुले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट कांग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समावेश गरेको छ ।
यस्तै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले १०÷१० जना समानुपातिक उम्मेदवार बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको बन्द सूचीमा सुदूरपश्चिम ठेगाना भएका दुई जना मात्रै समेटिएका छन् । तर रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले सुदूरपश्चिमबाट समानुपातिक सूचीमा पाँच जना अटाएका दाबी गरे ।
नेपाली कांग्रेसले मात्रै प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार छनौट गरेको छ । अन्य दलहरुले भने प्रदेशका सबै जिल्लालाई समेट्न सकेका छैनन् ।
एमालेले दार्चुला, बझाङ,कञ्चनपुर, कैलाली र अछामबाट मात्रै उम्मेदवार बनाएको छ भने नेकपाले डोटी, बाजुरा, अछाम, कैलाली र कञ्चनपुरबाट मात्रै उम्मेदवार बनाएको छ।
एमालेले बैतडी, डोटी, बाजुरा र डडेल्धुराबाट उम्मेदवार बनाएको छैन भने नेपाली कम्युनिस्ट पार्टीले बैतडी, दार्चुला, डडेल्धुरा र बझाङबाट समानुपातिक उम्मेदवार बनाएको छैन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले कैलाली, कञ्चनपुर र अछामबाट समानुपातिक उम्मेदवार सूचीमा रहेका जनाएको छ । यद्यपि उक्त सूचीमा सुदूरपश्चिमको ठेगाना भएका दुई जनामात्रै रहेका छन् ।




