Sagun Khabar
समानुपातिकतर्फ सुदूरपश्चिमलाई रास्वपाको उपेक्षा, सूची सच्याउन आग्रह 

कैलाली –वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिका निभाउने बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्राथमितकतामा सुदूरपश्चिम प्रदेश नपरेको गुनासो बढेको छ । रास्वपाले समानुपातिक बन्द सूची बुझाउँदा सुदूरपश्चिम प्रदेशलाई हेपिएको गुनासो बढेको हो ।

रास्वपाले बुझाएको सूचीमा स्थायी ठेगाना सुदूरपश्चिम उल्लेख गरिएका दुई जना मात्रै छन् । दुवै जनाको ठेगाना कञ्चपुर लेखिएको छ । रास्वपाले कञ्चनपुरबाट खसआर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट कञ्चनपुरकै सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ ।

यता रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीले भने सुदूरपश्चिमका पाँच जना बन्द सूचीमा परेको बताएका छन् । उनका अनुसार रावल र चौधरीसँगै टीका संग्रौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिश्मा कठरिया र गीता चौधरीको घर पनि सुदूरपश्चिम हो । तर, रास्वपाले बुझाएको बन्द सूचीमा रावल र चौधरीबाहेक कसैको पनि स्थायी ठेगाना सुदूरपश्चिमका जिल्लामा छैन । रास्वपा सुदूरपश्चिमले भने ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर तथा करिश्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदमा सिफारिस गरेको थियो ।

बन्द सूचीमा परेका ११० जनामध्ये सुदूरपश्चिमको भागमा दुई–चार जना मात्रै परेको भन्दै रास्वपाको प्राथमिकतामा सुदूरपश्चिम नपरेको गुनासो गरिएको हो । 

रास्वपा सुदूरपश्चिमले समानुपातिकका लागि ३० जनाको नाम सिफारिस गरेको थियो । आफूहरुले सूची सच्याउनका लागि आग्रह गरेको जोशीले बताए । उनले भने, ‘बालेन र कुलमानको टीम पनि रास्वपामा आएपछि सबैतिर मिलाउँदा यस्तो भएको हो । सुदूरपश्चिमका कम्तीमा सात जनाको नाम सूचीमा अटाउँछ । यसका लागि हामीले नेतृत्वसँग भनिसकेका छौं ।’
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update