बैतडी –बैतडीको पाटनका अभिभावकहरुले बालविवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । बालविवाहका कारण हुने असरका बिषयमा थाहा भएपछि आफूहरु सामूहिक रुपमा बालविवाह रोक्ने अभियानमा लागेको पाटन–६ का जनकसिंह बिष्टले बताए ।
गल्स फस्ट फण्डको सहयोगमा परोपकार ग्रामीण विकास संघले अभिभावकहरुसँग गरेको अन्तरक्रियामा सहभागी अभिभावकहरुले बालविवाह रोक्नका लागि अभिभावक समूह बनाएर सक्रिय भएको बताएका छन् ।
अहिले पाटन नगरपालिका–२ र ६ मा परोपकार ग्रामीण विकास संघले बालविवाह न्यूनीकरण र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । ती दुई वडाका दुईओटा विद्यालयमा किशोरकिशोरीहरुको समूह बनाएर रुपान्तरण कक्षा सञ्चालन गरिरहेको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
रुपान्तरण कक्षामा सहभागी किशोरकिशोरीका अभिभावकहरुसँग बालविवाह अन्त्यका बिषयमा आयोजना गरिएको अन्तरक्रियामा अभिभावकहरुले बालविवाह रोक्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।
बालविवाहका कारण शारीरिक, सामाजिक,आर्थिक र अन्य समस्याहरु सिर्जना हुने भएकाले आफूहरु बालविवाह रोक्न सक्रिय रहेको पाटन नगरपालिका –२ मा गठन गरिएको आदर्श अभिभावक समूहकी संयोजक निर्मला ऐरले बताइन् । बालविवाहका कारण आफ्नो पुस्ताले धेरै समस्या झेलेकोले अबको पुस्ताले त्यस्तो समस्या झेल्न नपरोस भनेर आफूहरु सक्रिय रहेको उनले बताइन् । उनले भनिन्, ‘बालविवाहका कारण धेरै समस्या सिर्जना भइरहेको छ । त्यसैले हामीले बालविवाह रोक्ने प्रयास गरिरहेका छौं ।’
बालविवाहले परिवारलाई पुस्तौंसम्म समस्या पार्ने भएकाले आफूहरु बालविवाह रोक्न सक्रिय रहेको पाटन –२ की भागरथी पाण्डेयले बताइन् । रुपान्तरण कक्षामा सहभागी भएपछि बालबालिकाहरु पनि निकै सचेत भएको उनले सुनाइन् । उनले भनिन् ‘विद्यालयमा सञ्चालन हुने रुपान्तरण कक्षाबाट हाम्रा बालबालिकाहरुमा धेरै परिवर्तन आएको छ । बालविवाह गर्नुहुँदैन भन्ने कुरा उनीहरुलाई थाहा भएको छ ।’
बालविवाहका कारण स्वास्थ्य विभिन्न खालका समस्या सिर्जना हुने भएकाले यसलाई परिवारबाटै निरुत्साहित गर्नुपर्ने सिलङ्गा स्वास्थ्यचौकीकी अनमी सिर्जना नाथले बताइन् । स्वास्थ्य संस्थामा अझै पनि बच्चा जन्माउन किशोरी आमाहरु आउने क्रम जारी रहेकाले यसले समुदायमा अझै सुधारको खाँचो औंल्याएको बताइन् । बालविवाहविरुद्धको अभियानले केही हदसम्म बालविवाह रोकिएपनि पूर्ण रुपमा अन्त्य हुन नसकेको उनको भनाइ छ ।
बालविवाह एक हानिकारक प्रचलन भएकाले यसको अन्त्यका लागि संस्थाका तर्फबाट सबै सरोकारवालाहरुसँग छलफल गर्ने गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
ग्रामीण क्षेत्रमा किशोरकिशोरी र अभिभावकहरुलाई लक्षित गरेर आफूहरुले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालनमा ल्याएको परोपकार ग्रामीण विकास संघका सचिव दिपक बिष्टले बताए ।
मुलुकी अपराध संहित ऐन २०७४ ले २० बर्ष मुनिको विवाहलाई बालविवाह मानेको छ । २० बर्षभन्दा मुनिको विवाह स्वतः बदर हुने व्यवस्था समेत उक्त ऐनमा गरिएको छ । कसैले बालविवाह गरेमा तीन बर्ष कैद र तीस हजार रुपैयाँ जरीवानाको समेत व्यवस्था गरिएको छ ।




