Sagun Khabar
धनगढीमा पत्रकार चन्दलाई दुर्व्यवहार गर्ने युवक पक्राउ 

कैलाली –धनगढीबाट सञ्चालित ‘नयाँ सन्देश’ अनलाइनकी प्रधानसम्पादक रमा चन्दलाई दुर्व्यवहार गर्ने २८ वर्षीय मनीष श्रेष्ठलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।  

पत्रकार चन्दमाथि धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दुर्व्यवहार भएको थियो ।  महोत्सवबारे क्यामेरामा बोलिरहँदा पछाडिबाट आएर एकजना अपरिचित युवकले जोडले धक्का दिएर दुव्र्यवहार गरेको पत्रकार चन्दले बताइन् । अन्य महिलाले यस्तो अन्याय सहनु नपरोस् भनेर कारबाहीको माग गरेकी उनले बताइन् । आफूमाथि भएको दुर्व्यवहारविरुद्ध चन्दले प्रहरीमा उजुरी दिएकी थिइन् ।

पक्राउ परेका श्रेष्ठ पाल्पा घर भई धनगढीमा डेरा गरी बस्दै आएका गाडी चालक रहेको कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले बताए । श्रेष्ठलाई सोमबार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले बताए । 

महोत्सवको प्रत्यक्ष प्रसारण गरिरहेका बेला शनिबार पछाडिबाट चन्दलाई नियतवश धक्का दिएको भिडियोमा देख्न सकिन्छ । घटनाप्रति पत्रकार महासंघले आपत्ति जनाउँदै संलग्नलाई कारबाहीको माग गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update