कैलाली –आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिसमा गरिएको छ ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केन्द्रीय सदस्य राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप पाठकले जानकारी दिए ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिसमा परेका पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी गत निर्वाचनमा कैलाली–५ बाट नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
यस्तै शाह कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री हुन् । उनी कांग्रेस कैलालीका पूर्वसभापति पनि हुन् । ओड कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा धनगढी उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।
क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको पनि प्रवक्ता पाठकले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्यका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफरिस गरिएको छ ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।




