Sagun Khabar
लसुन र बेसार खेतीमा रोगकीरा लागेपछि किसान चिन्तित 

बैतडी–बैतडीका विभिन्न स्थानमा व्यवसायिक रुपमा लसुन र बेसार खेती गरिरहेका किसानहरु समस्यामा परेका छन् । लसुन र बेसार खेतीमा रोगकीरा लागेपछि किसानहरु चिन्तित बनेका हुन् । 

जिल्लाको पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा महिला उद्यमी समूहमा आवद्ध महिला किसानहरुले व्यवसायिक रुपमा लसुन र बेसार खेती गर्दैै आएका छन् । 

लसुन र बेसार खेतीमा रोगकीराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका बताइएको छ । 

सारथी नेपालले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीहरुको सशक्तीकरण’परियोजना अन्तर्गत महिला उद्यमीहरुलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको छ । ४४ जना किसानहरुलाई बेसार र ५२ जना किसानहरुलाई लसुन खेतीमा सहयोग गरेको भएपनि रोगकीराका कारण किसानहरु चिन्तित बनेका सारथी नेपालका कार्यक्रम संयोजक भूपाल बोहराले बताए । 

बारीमा लगाएको लसुन र बेसार खेतीमा खुम्रे कीराको प्रकोप देखिएको सुर्नया गाउँपालिका–६ मुसेकी पवित्रा शाहीले बताइन् । रोगकीराका कारण लसुन र बेसार खेतीमा क्षति पुगेको उनले सुनाइन् । उनले भनिन् ‘पहिला –पहिला लसुन र बेसारमा रोगकीरा लाग्दैनथ्यो । तर अचेल यी बालीमा समेत रोगकीराको प्रकोप देखिन थालेको छ ।’

लसुन खेतीमा रोगकीरा लागेपछि उत्पादनमा कमी आउने चिन्ता छाएको सिगास गाउँपालिका –२ की परुली धामीले बताइन् । बारीमा लगाएको लसुनमा खुम्रे कीराको प्रकोप देखिएको उनले बताइन् । 

लसुन र बेसार खेती गरिरहेका अधिकांश किसानहरुले रोगकीराको सामना गरिरहेका सारथी नेपालकी फिल्ड सुपरभाइजर मानमती भट्टले बताइन् । रोगकीराको एकीन कारण नभएपनि काँचो गोबरमलको प्रयोगबाट कीरा लागेको हुन सक्ने अनुमान गरिएको उनले बताइन् । 

लसुन र बेसार खेतीमा लागेको खुम्रे कीराको बिषयमा कृषि प्राविधिकहरुसँग छलफल भइरहेको भट्टले बताइन् । लसुन र बेसारमा बिरलै रुपमा रोगकीरा लाग्ने भएपनि यो बर्ष भने धेरै किसानहरु रोगकीराले हैरान भएका उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update