बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ धुलिधारका ४३ बर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० बर्षीया छोरी आयुसा बिष्ट नेपाली सेनाको इतिहासमा दुर्लभ उदाहरण बनेका छन् । पहिलोपटक बुबा–छोरी दुवै एकै समय, एकै दर्जामा तालिमरत भएपछि उनीहरू चर्चामा आएका हुन् ।
नेपाली सेनामा २४ वर्षे सेवा अवधि पूरा गर्दै सहायक सेनानी पदमा पुगेका नरेन्द्र हाल सबुज गण, बारामा कार्यरत छन् । पहिलो प्रयासमै सेकेन्ड लेफ्टिनेन्टमा चयन भएकी आयुसा भने सि.नं. ६५ को खरिपाटीस्थित तालिम केन्द्रमा तालिममा व्यस्त रहेकी छन् ।
बुवा–छोरी एकैपटक नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट तालिममा सहभागी भएपछि अहिले उनीहरुलाई प्रेरणादायी पात्रको रुपमा हेर्न थालिएको छ ।
बुवा–छोरी दुवै एकै स्थानमा समान तालिममा सहभागि हुन पाउँदा निकै खुसी लागेको नेपाली सेनाका सहायक सेनानी नरेन्द्र बिष्टले बताए ।
बुवा नेपाली सेनामा कार्यरत रहेकाले आयुसाको पनि सानैदेखि नेपाली सेनामा जागीर गर्ने सपना थियो । उनी अहिले उक्त सपना पूरा गर्न व्यस्त रहेकी छन् ।
बुबाको हौसला, अनुशासन र जिम्मेवारीबाट प्रभावित भएकी आयुसाले नेपाली सेनामा भर्ना भएपछि निकै गर्व लागेको बताएकी छन् । उनले भनिन् ‘बुबा जस्तै राष्ट्रका लागि समर्पित भएर सेवा गर्न पाउँदा गर्व लाग्छ । तालिममा बुबासँग भेट हुन्छ, त्यो क्षण नै छुट्टै प्रेरणादायी हुन्छ ।’
धुलिधारका नरेन्द्र बिष्ट र आयुषा बिष्ट बुवा–छोरी नेपाली सेनामा एकै दर्जामा कार्यरत भएपछि स्थानीयबासीहरु पनि खुसी भएका छन् ।
समाजमा युवा–युवतीलाई अनुशासन र समर्पणबारे सन्देश दिन उनीहरूको फौंजी यात्राले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपाली सेना स्रोतका अनुसार, एउटै परिवारका सदस्यहरू सेना प्रवेश गर्ने क्रम बढ्दो छ तर बुबाछोरी एकैपटक अधिकारी दर्जामा तालिममा सहभागी भएको घटना भने बिरलै रहेको बताइएको छ ।
आफूसँगै छोरी पनि नेपाली सेनामा प्रवेश गरेपछि निकै खुसी लागेको नेपाली सेनाका सहायक सेनानी नरेन्द्र बिष्टले बताए । उनले भने ‘आफूसँगै छोरी पनि नेपाली सेनामा प्रवेश गरेपछि यो भन्दा ठूलो खुशीको कुरा अरु के हुनसक्छ ? मलाई निकै गर्व लागेको छ । अब छोरीले अझ राम्रो गरेर देशको सेवा गर्छे भन्ने पूर्ण विश्वास छ ।’




