बैतडी–बैतडीका १० ओटा स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका कार्यक्रम सम्पादनमा पाटन नगरपालिका उत्कृष्ट भएको घोषणा गरिएको हो । यस्तै दशरथचन्द नगरपालिका दोश्रो र सुर्नया गाउँपालिका तेश्रो भएको छ ।
स्थानीय तहहरुले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालयले तय गरेका सूचक, समन्वय र सहकार्य तथा स्वास्थ्य क्षेत्रमा नवीनतम् अभ्यास गरेका पालिकाहरुलाई उत्कृष्ट पालिकाको रुपमा छनौट गरिएको हो ।
पालिकाहरुले स्वास्थ्य कार्यक्रमको लक्ष्य प्राप्ति र सेवा उपयोग दर, समयमै सही तथ्यांक प्रविष्ट गरेको, अनुगमनको समयमा सुधारात्मक कार्यान्वयन देखिएको, नवीन पहल र सिर्जनात्मक अभ्यास गरेको, तालिममा सिकेका सीपहरुको प्रयोग गरेको लगायतका सूचकहरुको आधारमा उत्कृष्ट पालिका छनौट गरिएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत रितेन्द्र बडूले बताए ।
उत्कृष्ट पालिकाहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ । यस्तै बार्षिक समीक्षा गोष्ठीमा अन्य बाँकी सातओटा पालिकाहरुलाई समेत सम्मान गरिएको छ ।
स्वास्थ्य कार्यालयले गरेको सम्मानले स्वास्थ्य क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
दशरथचन्द नगरपालिकाले समग्र दोश्रो स्थान प्राप्त गर्दा खुसी लागेको बताउँदै स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले आगामी दिनमा थप उत्साहका साथ काम गर्ने बताए ।
यस्तै सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले सीमित श्रोत र साधनकाबीचमा पालिकाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र आगामी दिन थप उत्साहका साथ काम गर्ने बताए ।





