Sagun Khabar
बैतडीमा उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित 

बैतडी– बैतडीमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । 

आइतबारदेखि बैतडी सदरमुकाममा आयोजना गरिएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठीमा आज स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 
जिल्लाका दशओटै पालिकाबाट एक÷एक जना गरेर १० जना उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । 

सम्मानित हुनेमा सिगास गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्र, कान्धारमा कार्यरत अनमी जानकीकुमारी पूजारा, शिवनाथ गाउँपालिकाको श्रीपुर आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव मोहनदत्त कलौनी, मेलौली नगरपालिकाको दुर्गास्थान स्वास्थ्यचौकीका सिनियर अहेब टंकप्रसाद बाग र दोगडाकेदार गाउँपालिकाको देउलेक स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव अधिकृत नन्दराज जोशी रहेका छन् । 

यस्तै पाटन नगरपालिकाको सिलंगा स्वास्थ्यचौकीमा कार्यरत अनमी सिर्जना नाथ, दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य अधिकृत किशोरप्रकाश लुहार,पुर्चौंडी नगरपालिकाको तल्लादेही स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव रामसिंह साउँद, सुर्नया गाउँपालिकाको हटैराज स्वास्थ्यचौकीमा कार्यरत सिनियर अहेव प्रकाश चन्द, डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी पुष्पाकुमारी बुढा र पञ्चेश्वर गाउँपालिकाको गिरेगडा स्वास्थ्यचौकीमा कार्यरत हेल्थ असिष्टेन्ट सुरेन्द्र भण्डारी पनि सम्मानित भएका छन् । 

उनीहरुलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । 

यस्तै स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कम्प्युटर अपरेटर घनश्याम भट्टलाई पनि सम्मानित गरिएको छ । 

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । 

स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा र हौसला मिलोस भनेर सम्मान गरिएको उनले बताए । 

स्वास्थ्य कार्यालयले गरेको सम्मानले आफूहरुलाई कर्म क्षेत्रमा थप उर्जाका साथ लाग्ने प्रेरणा मिलेको अनमी जानकी पूजाराले बताइन् । 

उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

स्वास्थ्य कार्यालय बैतडीले हरेक बर्ष उत्कृष्ट  स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update