Sagun Khabar
कार्तिकमै फूले हिउँदे फलफूलका बिरुवा 

बैतडी –बैतडीमा हिउँदे फलफूलका बिरुवा कार्तिकमै फुलेका छन् । समान्यता फागुन–चैतमा फुल्नुपर्ने बिरुवा कार्तिकमै फूलेका हुन् । 

बैतडीको चिसो ठाउँको रुपमा रहेको सुख्खा फलफूल केन्द्र सतबाँझको नर्सरीमा रहेका हिउँदे फलफूलका बिरुवा कार्तिक दोश्रो सातामै ढकमक्क फुलेका सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए । 

फागुन–चैतमा फुल्नुपर्ने बिरुवा कार्तिकमै फुल्नुको कारण जलवायु परिवर्तन हुन सक्ने ठगुन्नाले बताए । तापक्रम वृद्धि हुँदै गएपछि सिजनभन्दा अगाडि नै फलफूलका बिरुवा फूलेका हुन सक्ने अनुमान गरिएको उनले बताए । 

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा रहेका स्याउ तथा आरुका बिरुवा कार्तिकमै फुलेका निमित्त प्रमुख ठगुन्नाले बताए । उनले भने, ‘कार्तिकमै हिउँदे फलफूलका बिरुवा फुलेका छन् । समान्यतयाः यी परिवार फागुन –चैतमा फुल्नुपर्ने हो । जलवायु परिवर्तनको कारणले यसो भएको हुन सक्छ । विज्ञहरुसँग यो बिषयमा परामर्श गरिरहेका छौं ।’

सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरीमा लो चिलिङ जातका स्याउका करीब ४ सय बिरुवा फल दिने लायक छन् भने साढे चार सयको हाराहारीमा आरुका बिरुवा रहेका छन् । यी मध्ये अधिकाँश बिरुवा फूलेका ठगुन्नाले बताए । 

सिजनभन्दा अगाडि नै हिउँदे फलफूलका बिरुवा फूलेपछि फल उत्पादनमा कमी आउन सक्ने बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update