Sagun Khabar
चाडपर्व लक्षित सुरक्षा योजना : सुदूरपश्चिममा ५ हजार प्रहरी परिचालन 

कैलाली –सुदूरपश्चिम प्रदेशमा चाडपर्वको बेला शान्ति, सुरक्षा कायम गर्नको लागि पाँच हजार ७७ प्रहरी परिचालन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेको हो । जेनजी प्रदर्शनको क्रममा कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिर निस्केकाले सुरक्षा चुनौती थपिएको निष्कर्षसहित फरक रणनीतिका साथ प्रहरी परिचालन गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डिआइजी), प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा प्रहरी खट्ने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी, प्रत्येक जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षकको कमाण्डमा सुरक्षाका लागि प्रहरी परिचालन हुने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

चाडपर्वमा सुरक्षा चेकजाँचमा कडाइका साथै मापसे चेकजाँच गरिने उनले बताए । चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले बिशेष ध्यान दिने बताइएको छ । 

कारागारबाट कैदी फरार हुँदा सुरक्षा चुनौती थपिएकाले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा विशेष निगरानी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले बताए । 

उनले फरार कैदी पक्राउका लागि प्रत्येक जिल्लाका प्रहरीलाई सर्कुलर गरेको जानकारी दिए । चाडपर्वमा एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहयोगका लागि प्रदेशभर ६५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जसमा २०९ प्रहरी खटेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update