
काठमाण्डौ–गएको भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ । आन्दोलनका क्रममा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ । प्रहरीका दुई सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताए । उनका अनुसार तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ ।
प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । यस्तै ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भएको र दुई सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने एक सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
मूल्याङ्कन भने अझै भइनसकेको र क्षतिको विवरण सङ्कलनको काम भैरहेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।