Sagun Khabar
स्वास्थ्य मन्त्री पौडेलले गरे ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको शुभारम्भ 

कैलाली –स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन् ।  बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए ।

प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । यस कार्यक्रमलाई नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई वैज्ञानिक रुपमा विकास गरी आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने मन्त्री पौडेलको भनाइ छ । ‘स्वर्ण बिन्दु प्राशन’ हजारौं वर्ष पुरानो आयुर्वेद विज्ञानमा रहेको ज्ञान भएको मन्त्री पौडेलले बताए ।  

मन्त्री पौडेलको अग्रसरतामा आयुर्वेद र परम्परागत चिकित्सालाई वैज्ञानिक विधि र पद्धति अनुरूप अनुसन्धान गरी राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने नीतिलाई अघि सारेको मन्त्रालयले जनाएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि हो ।  यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार हुन्छन् । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।  त्यसैगरी, मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update