Sagun Khabar
रास्वपाले सुदूरपश्चिममा घरदैलोमै पुगेर हस्ताक्षर अभियान सञ्चालन गर्ने 

कैलाली –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले  पूर्वाग्रही कानुनी प्रयोग गरेको भन्दै जनताबीच घरघर पुगेर हस्ताक्षर अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेताहरूले सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए । 

रास्वपाका नेता रमेश प्रसाईंले सरकारले कानुनको आवरणमा सभापति लामिछानेमाथि अन्याय गरेको दाबी गरे । त्यस्तै अर्का नेता प्रमोद न्यौपानेले पनि लामिछानेमाथि कानुनको गलत प्रयोग भएको भन्दै राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियानलाई देशव्यापी बनाइने बताए ।

रास्वपाका नेता दिपक बोहराले अहिलेसम्म ३३ लाख हस्ताक्षर सङ्कलन भइसकेको जानकारी दिए । तीन चरणमा सञ्चालन हुने अभियानअन्तर्गत अहिले दोस्रो चरणको अभियान शुरु भएको उनले बताए । दोश्रो चरणमा गाउँटोल र घरदैलोमै पुगेर अभियान सञ्चालन गरिने उनको भनाइ छ । सरकारले गरेको अन्यायविरुद्ध छठसम्म अभियान चलाएर अन्त्यमा सङ्कलित हस्ताक्षर जनतालाई नै बुझाइने बोहराले बताए । 

रास्वपाले अहिले सुदूरपश्चिमका हिमाली बाहेकका सबै जिल्लामा हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यसका साथै भारतसँग जोडिएका प्रमुख नाका क्षेत्रहरूमा पनि अभियान सञ्चालन गरिने पार्टीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update