Sagun Khabar
कांग्रेसको बैतडी–कैलाली सम्पर्क समिति गठन, अध्यक्षमा भट्ट चयन 

कैलाली – नेपाली कांग्रेस बैतडी –कैलालीको सम्पर्क समिति गठन गरिएको छ । सम्पर्क समितिको प्रथम भेलाले प्रयागराज भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा तिलकसिंह धामी र नरसिंह भाट चयन भएका छन् । यस्तै सचिवमा शंकरसिंह ऐरी, सहसचिवमा यज्ञराज अवस्थी र अक्कलबहादुर भण्डारी, कोषाध्यक्षमा जयन्ती बोहरा चयन भएका छन् । 

समितिको सदस्यहरूमा प्रेमबहादुर चन्द, सुरज मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल चयन भएका छन् । बाँकी सदस्य पछि मनोनयन गरिने समितिले जनाएको छ ।

समितिको बैठकले नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

समिति गठनका लागि धनगढीमा आयोजित भेलामा नेपाली कांग्रेसका नेताहरूले संगठन विस्तार, विकास र सहकार्यमा विशेष जोड दिएका छन् ।

भेलाका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान पाएको स्मरण गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए । उनले कैलालीमा रहेका बैतडीबासीले कांग्रेसलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यस्तै केन्द्रीय सदस्य नृपबहादुर वडले आपसी सहकार्यबाट मात्र पार्टी बलियो हुने भन्दै सम्पर्क समितिले बैतडी र कैलालीबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीका सबै नेता–कार्यकर्ताहरुले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

भेलामा प्रदेशसभा सदस्य शिवराज भट्टले बैतडी–कैलाली सम्पर्क समितिले पार्टीको संगठनलाई बलियो बनाउन काम गर्ने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update