
बाजुरा – बाजुराको हिमाली गाउँपालिका –१ बिच्छ्यामा बाढीले एघार घर बगाएको छ ।
बिच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको वडा नं १, ३ र ५ मा बढी क्षति पुर्याएको छ ।
बाढीले ११ घर बगाएको, ७ घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए ।
कवाडी प्रहरीचौकीको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर तथ्यांक संकलन गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
बाढीले हिमाली गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुर्याएको छ ।
यस्तै हिमाली गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा लुहार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताए । त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएको प्रहरीले जनाएको छ ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् ।
स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन्, झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।