
बैतडी–बैतडीको भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र रहेका गर्भवती आमाहरुलाई घरमै निमन्त्रणा कार्ड पठाउन थालेको छ ।
सुर्नया गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीले गर्भवती आमाहरुलाई नियमित चेकजाँच गराउन उत्प्रेरित गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउन थालेको हो ।
स्वास्थ्यचौकीले आफ्नै पहलमा गर्भवती आमाहरुका लागि निमन्त्रणा कार्ड तयार पारेको र प्रत्येक गर्भवती आमाको घरमा पुर्याइने स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
निमन्त्रणा कार्डमा गर्भावस्थामा नियमित गर्भजाँचको महत्व र फाइदाका बिषय समेट्नुका साथै सुत्केरी भएपछि स्वास्थ्य जाँच गर्नुको महत्व समेत उल्लेख गरिएको महराले बताए । उनले भने, ‘आमा गर्भवती भएपछि स्वास्थ्य संस्थामा आठ पटक गर्भजाँच गराउनुपर्ने हुन्छ । कतिपयले गर्भजाँच नगर्ने भएकाले उनीहरुलाई गर्भजाँच गराउन उत्प्रेरित गर्न यो अभियान सञ्चालन गरेका हौं ।’
गर्भवती आमाहरुका लागि तयार पारिएको निमन्त्रणा कार्डमा आठ पटक गर्भजाँच गर्नुको फाइदा र चेकजाँचको समय पनि उल्लेख गरिएको छ । यसका साथै स्वास्थ्य संस्थामा बच्चा जन्माइसकेपछि गर्नुपर्ने स्वास्थ्य जाँचका कुराहरु उल्लेख गरिएका छन् ।
निमन्त्रणा कार्डमा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने पूर्व तयारीहरु समेत समेटिएका छन् ।
गर्भावस्थामा नियमित स्वास्थ्य जाँच नगर्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले नियमित जाँचलाई प्रोत्साहन गर्न यो अभियान सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
निमन्त्रणा कार्डमा गर्भवती आमाहरुले साविकको भन्दा थप पोषिलो खानेकुरा खानुपर्ने उल्लेख गरिएको छ भने आइरन चक्की सेवन गर्नुपर्ने, टिडी खोप लगाउनुपर्ने, जुकाको औषधी सेवन गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
भौनेली स्वास्थ्यचौकीले महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत गर्भवती आमाहरुको घरमा निमन्त्रणा कार्ड पठाउने बताएको छ ।
भौनेली स्वास्थ्यचौकीले नौलो र सिर्जनात्मक अभ्यास शुरु गरेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए । यो अभ्यासले आमा र शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
सुर्नया गाउँपालिकाको भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र उत्कृष्ट सेवा प्रदान गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । अन्य स्वास्थ्य संस्थाहरुले पनि यो अभ्यासको अनुकरण गर्नुपर्नेमा जोड दिए ।