
बैतडी–बैतडीको सिद्धपुर स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सम्पदान गरेका कामहरु र प्रदान गरेका सेवाहरुको बारेमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाईको आयोजना गरिएको स्वास्थ्यचौकीका प्रमुख महेन्द्र बोहराले बताए ।
सार्वजनिक सुनुवाईमा स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सञ्चालन गरेका सेवाहरुको बारेमा जानकारी दिइएको थियो भने आयव्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।
स्वास्थ्यचौकीबाट गत आर्थिक बर्षमा २ हजार बढी नागरिकले सेवा लिएका स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।
स्वास्थ्यचौकीले बालरोगको एकीकृत व्यवस्थापन सेवा, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, प्रयोगशाला सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष धनबहादुर कुँवरले स्वास्थ्यचौकीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउने दाबी गरे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।