
बैतडी–बैतडीको भुमेश्वर स्वास्थ्यचौकीबाट एक बर्षको अवधिमा ६ हजार बढी नागरिकले सेवा लिएका छन् ।
पाटन नगरपालिका–४ स्थित उक्त स्वास्थ्यचौकीबाट सेवा क्षेत्रभित्रका ६ हजार १ सय ९५ जनाले सेवा लिएको स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले जानकारी दिए ।
बुधबार स्वास्थ्यचौकीले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्यचौकीमार्फत गत आर्थिक बर्षमा सम्पादन भएका कामहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।
एक बर्षको अवधिमा भुमेश्वर स्वास्थ्यचौकीबाट ३६ जना आमाले सुरक्षित प्रसूती सेवा लिएका छन् भने ५० जना बालबालिकाहरुले खोप तालिका अनुसार पूर्ण खोप सेवा लिएका छन् ।
यस्तै गाउँघर क्लिनिकमार्फत ८ सय ८३ जना, महिला स्वास्थ्य स्वयंसेविकामार्फत २ हजार ७९३ जना र नसर्ने रोगको पहिचान अभियानमा २ सय ८१ जनाले सेवा लिएको स्वास्थ्यचौकी प्रमुख विकले जानकारी दिए ।
स्वास्थ्यचौकीले बालरोगको एकीकृत व्यवस्थापन सेवा, किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवा, पोषण सेवा, नसर्ने रोगको व्यवस्थापन सेवा, प्रयोगशाला सेवा, परिवार नियोजन सेवा, किशोरीहरुलाई आइरन चक्की वितरण सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवाहरु नियमित रुपमा प्रदान गरिरहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दिपक बिष्टले स्वास्थ्यचौकीले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउन आफूले सक्दो पहल गर्ने बताए । स्वास्थ्यचौकीबाट प्रदान हुने सेवाहरुलाई प्रभावकारी बनाउन वडा कार्यालयबाट हुन सक्ने सबै सहयोग गरिने उनले प्रष्ट पारे ।
सार्वजनिक सुनुवाई कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, जनप्रतिनिधि, स्वास्थ्यचौकीका कर्मचारी, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो ।