Sagun Khabar
कैलाली कारागारमा मारिएका चौधरीको शव आफन्तले बुझे 

कैलाली –कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव आफन्तले बुझेका छन् । धनगढी उपमहानगरपालिका–४ का ३७ बर्षीय चौधरीको शव चार दिनपछि आज आफन्तले बुझेका हुन् । 

मृतकका आफन्तले राखेका माग सम्बोधन गर्ने सहमति भएपछि शव बुझेको मृतकका भाइ विजय चौधरीले बताए । मृतकका मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, मृतककी १५ बर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू सम्बोधन गर्ने सहमति भएको बताइएको छ । 

चौधरी मृत्यु प्रकरणमा आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले बताए । 

लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको कारागारभित्रै कैदीबन्दी समूहबीच शुक्रबार राति भएको झडपमा परि मृत्यु भएको थियो । कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले मृतकको परिवारलाई ५ लाख उपलब्ध गराउने निर्णय गरिसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update