
बैतडी- बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको छ । बिहिबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि बिहिबार जिल्लाको सदरमुकाम गढी,गोठलापानी क्षेत्रमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, जनप्रतिनिधि,नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी बिपिन लेखकले बताए ।
पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको खोप सुपरभाइजर निरीक्षक भट्टले बताए ।
एडीज जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण फैलिने भएकाले यो रोगबाट बच्ने उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए ।
डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि लक्षण देखापर्ने गर्दछन् ।
डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने ल्याब टेक्निसियन जयसिंह बडालले बताए ।