Sagun Khabar
खप्तड गोल्डकपका संस्थापक सुरेश हमालको निधन

धनगढीः सुदूरपश्चिम प्रदेशमा व्यावसायिक फुटबल खेलको विकासमा अग्रसर कैलालीका सुरेश हमालको निधन भएको छ।

मृगौला समस्याबाट पीडित उनको ४८ वर्षको उमेरमा निधन भएको छ। उनकोे भारतको बरेलीमा उपचारको क्रममा आज निधन भएको सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका देवेन जोशीले जानकारी दिए। जोशीका अनुसार मधुमेह समस्यासंग जुझ्दै व्यावसायिक फुटबल खेलको विकासमा क्रियाशील हमाल पछिल्लो केही वर्षदेखि मृगौला समस्याबाट पनि ग्रसित थिए।

दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला ट्रान्सप्लान्टको तयारी भइरहेको बेला हमाल बितेको जोशीले जानकारी दिए। “भाउजु (हमालकी श्रीमती) ले मृगौला दिने तयारी थियो”, उनले भने,“ट्रान्सप्लान्टको तयारी भइरहेको बेला दुःखद निधन भएको छ।”

हमालको निधनले सुदूरपश्चिम प्रदेशको खेल जगत स्तब्ध भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष हमालको अथक प्रयासमा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो धनराशिको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। हमालले आफ्नो व्यक्तिगत लगानीमा क्लबका खेलाडीलाई आफ्नै घरमा राखेर प्रशिक्षणको व्यवस्था गर्नु भएको थियो।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update