
दार्चुला –नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमाथि व्याँस गाउँपालिकाका युवाले चट्टान फुटाएर अहिले मानिस हिँड्न घोरेटो बाटो बनाएका छन् ।
व्याँसको वडा नम्बर १ र २ जोड्ने पैदल बाटो नभएपछि स्थानीयले चट्टान फोडेर बाटो बनाएका हुन् । महाकाली नदीको छेउको ठाडो चट्टान फोडेर आफ्नै भूमिमा पाइला टेक्न सकिने बाटो व्याँसका युवाले ज्यानको बाजी राखेर बनाएका छन् । व्याँस–२ का युवा जनकसिंह धामीको नेतृत्वमा यो काम भएको हो । व्याँस–१ को छाङ्गरु र तिंकर तथा वडा नम्बर २ को दुम्लीङ कल्जु गाउँ जोड्न स्थानीयले घोरेटो बाटो बनाएका हुन् ।
गाउँ जानुपर्दा जहिल्यै भारतको बाटो हिँड्नुपर्ने र भारतीय प्रहरीको अनुमति विना गाउँ जान नसकिने भएपछि यहाँका स्थानीयले यो अवस्थाको अन्त्यका लागि यस्तो जोखिम उठाएर बाटो बनाएको धामीले बताए ।
व्याँसका दुई वडा जोड्ने परम्परागत घोरेटो बाटो भत्किएका कारण यो क्षेत्रमा आवतजावत ठप्प थियो । महाकाली नदी किनारैकिनार पैदल बाटो रहेकामा भारतले निर्माण गरेको सडकका कारण पूरै नदीको धार नेपालतर्फ आउँदा बाटो भत्किएपछि नेपालका दुई गाउँ जान बाटो थिएन । बाटो भत्किएपछि सुदूरपश्चिम प्रदेश सरकारले २०७७ सालमा नेपाली सेनाको सहयोगमा ४५० मिटर घोरेटो बाटो खोलेको थियो । तर त्यो बाटो पनि भत्किएपछि समस्या भएको थियो ।
सबैभन्दा कठिन भूगोल रहेको ‘थी भीर’ क्षेत्रको पैदल बाटो बनाउने जिम्मेवारी पाएका धामीसँग गाउँका ४३ युवाले बाटो निर्माणमा सहभागिता जनाएका हुन् ।
घोरेटो बाटोमा काम गरेका उज्जवलसिह महताले बाँदर नचढ्ने भीरमा डोरी लगाएर काम गर्दा पनि अप्ठ्यारो महशुस नभएको बताए ।
गाउँपालिकाले बोलपत्र आह्वान गरेर बाटो बनाएको हो । बाटो निर्माणको जिम्मा मिसन–देवहरी जेभी निर्माण कम्पनीले लिएको थियो । कुल रु पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माणको ठेक्का पाएकोमा असार मसान्तसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायी केशवबहादुर पालले बताए । निर्माण कार्य नसकिएको भन्दै आगामी मङ्सिर १५ गतेसम्म म्याद थप गरिएको छ ।