
कैलाली –कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कुटपीट भएपछि सेवा प्रभावित भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले बिहीबार कार्यकक्षमै कुटपीट गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपीट भएपछि नगरपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै अति आवश्यक बाहेकका काम गर्न नसकिने बताएका छन् ।
उनीहरूले दोषीलाई कानुनी कारवाही हुनुपर्ने र कर्मचारीहरूका लागि सुरक्षित वातावरण तयार पार्न माग गरेका छन् ।
नगरपालिकाका सबै कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू स्थगन गरेका जनाएका छन् ।
कर्मचारीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा बिहिवार दिउँसो प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि कार्यकक्षमा कुटपीट तथा अभद्र व्यवहार गरिएको उल्लेख गरिएको छ ।