
बैतडी –बैतडीको प्रसिद्ध सिगास धुरा धाममा यति बेला दर्शनार्थीहरुको घुइँचो लागेको छ । हरेक बर्ष श्रावण महिनामा सिगास धुराको दर्शनका लागि हजारौं भक्तजनहरु सिगास धुरा धाममा पुग्ने गरेका छन् ।
समुद्री सहतबाट २ हजार ९ सय मिटर उचाइमा रहेको यो सिगास धुरा धाम जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको धार्मिक स्थल हो ।
भगवना शिवको बासस्थल रहेको विश्वास गरिएको यो धाममा हरेक बर्ष साउनको महिना दर्शनार्थीहरु पुग्ने गरेका स्थानीय चुडामणी अवस्थीले बताए । धार्मिक पर्यटकको रोजाइमा परेको यो धाममा बैतडीका मात्रै नभएर अन्यत्रका दर्शनार्थीहरु समेत पुग्ने गरेका उनले बताए ।
सिगास धुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । सोही विश्वासका आधारमा हरेक बर्ष दर्शनार्थीहरु उक्त धाममा पुग्ने गरेका अवस्थीले बताए ।
सिगास धुरा धाममा पुग्नका लागि सिगास गाउँपालिका २ को गाँजरीबाट कुर्चेनेटा हुँदै जान सकिन्छ । त्यो बाहेक अन्य बाटोहरु समेत रहेका स्थानीय राजेन्द्र साउँदले बताए । कुर्चेनेटासम्म कच्ची सडक रहेको र त्यहाँबाट पैदल हिँडेर सिगास धुरा धाममा पुग्न सकिने उनले बताए ।
परापूर्वकालमा कैलाशबाट भगवान शिव सिगास धुरामा आएका जनविश्वास रही आएको छ । बोहरा थरका व्यक्तिले सिगास देवता पाएको किम्वदन्ती रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।
सिगास धुरामा धाममा हरेक बर्ष असोज शुक्ल पक्षको पञ्चमीदेखि पूजा लागेर असोजको शुक्ल अष्टमीमा जात्रा हुने गरेको छ । यस्तै चैत्राष्टमीमा पनि मन्दिरमा जात्रा हुने गरेको पूजारी चुडामणी अवस्थीले बताए । यसका साथै सिगास धुरामा साउनको महिना भारत सहित नेपालका विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने गरेका उनले बताए ।
उनले भने ‘सिगास धुरामा भारतबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । साउनको महिनामा दर्शन गर्नेहरुको घुइँचो लाग्ने गरेको हुन्छ ।
प्राकृतिक हिसाबले पनि निकै मनोरम दृश्य भएको ठाउँमा सिगास धुरा धाम रहेको छ । यसको चारैतिर जंगल रहेको छ । प्राकृतिक सौन्दर्यताका हिसाबले समेत सिगास धुरा निकै रमणीय रहेको छ ।
धार्मिक महत्व बोकेको सिगास धुरा धामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारले पहल थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले सिगास धुरा धाममा केबलकारको सम्भाव्यता अध्ययन गर्ने कुरा चालु आर्थिक बर्षको बजेट वक्तव्यमा उल्लेख गरेको छ ।
अस्थाको धरोहर
जिल्लाको दुर्गम पालिका भनेर चिनिने सिगासमा सिगास धामप्रति भने स्थानीयहरुको अगाध श्रद्धा रहेको पाइन्छ । सिगास धुरा धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पूजारी चुडामणी अवस्थीले बताए । उनले भने ‘सिगास धुराको दर्शन गरेमा अहिले सम्म मनोकामना पूर्ण भएको छ । शुद्ध मनले सिगासको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’
सिगास धुरा धामको दर्शन गरेमा चिताएको पूरा हुने जनविश्वास रही आएको स्थानीय रगबीरसिंह धामीले बताए । साउनको महिनामा यो धाममा दर्शन गर्नेहरुको संख्या हरेक बर्ष बढोत्तरी हुँदै गएको उनले बताए ।