
बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम योगीले बताए ।
गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको उनले बताए ।
डिलाशैनी गाउँपालिकाका ७ ओटै वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ३ सय ७१ जना बालबालिका र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार २ सय १७ जना बालबालिकाहरुले खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको योगीले बताए ।
गाउँपालिकामा पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिनका लागि सरोकारवालाहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न घरघरमै पुगेर घरधुरी सर्वेक्षण गरिएको थियो । वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध निशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी लगायतका जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
डिलाशैनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा सहयोग पुर्याएको सातओटै वडामा रहेका स्वास्थ्य संस्था प्रमुखहरुलाई सम्मान समेत गरिएको स्वास्थ्य शाखा प्रमुख योगीले बताए ।