
काठमाडौं : भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखे उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्न दबाब बढेको छ। विपक्षी दलहरुले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्री लेखकमाथि लागेपछि यस अगाडि नै मानव तस्करीमा मुछिएको भन्दै उपसभामुखको राजीनामा माग गर्नुपर्ने अडान राख्न कांग्रेसलाई दबाब बढेको हो।
विपक्षीले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप गृहमन्त्रीमाथि लागेको छ। यसैगरी गृह मन्त्रालयको आडमा मुलुकमा मानव तस्करी भइरहेको उनीहरुको दाबी छ। यसै प्रकरणमा अध्यागमनका विमानस्थल प्रमुख तीर्थ भट्टराई लगायतलाई नियन्त्रणमा लिएर अख्तियारले सोधपुछ गरिरहेको छ।
रास्वपा, माओवादी केन्द्र र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेपछि रास्वपाबाट उपसभामुख बनेकी राना पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ। यस अगाडि उपसभामुखले गैर सांसदलाई अमेरिका जान लागेका लागि भिसाका डेट चाँडो राखिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको थिइन्। ०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेकी थिइन्। जसमा ४ जना पुरुष र एकजना महिला थिए। यी पाँचैजना यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन्। उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिएकी थिइन्। सोहि विषयलाई लिएर पटक-पटक नेपाली कांग्रेसले संसदमा राजीनामा माग गर्दै आएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीच भेटमा पनि यो विषयमा कुराकानी भएको छ। बिहीबार सरकारले आव २०८२/८३ को बजेट ल्याउँदैछ। जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएको र त्यस अगाडि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने पर्ने भएकाले सरकारलाई अफ्यारो पर्ने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु छलफलमा जुटेका हुन्। सरकारले संसद बैठकको अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन सक्ने भएपनि अहिले त्यो चरणको मनस्थिति बनाइसकेको छैन।
विभिन्न तहमा बसेका बैठकहरूमा यदि यही कारणले अहिले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था विपक्षीहरुले बनाउने हो भने यस्तै प्रकृतिको विवादमा उपसभामुखले पनि राजीनामा दिनुपर्ने भन्ने विषय उठेको स्रोतले बताएको छ। एक छानबिन समिति सरकारले गठन गर्ने र यी दुवै विवादको निराकरण नहुञ्जेलसम्मका लागि गृहमन्त्री र उपसभामुख दुवैले राजीनामा दिनुपर्ने कुरा सत्तारुढ दलका बैठकहरूमा उठेको नेपाली कांग्रेस स्रोतले जनाएको छ।
कांग्रेसका एक नेताले भने, ‘केही अघि निकै विवादमा आएकी उपसभामुख रानामगरले आफैँ राजीनामा नदिएपछि संसदमा महाअभियोग लगाउनुपर्ने आवाज उठेको थियो। प्रधानमन्त्री ओली र उनको पार्टीले महाअभियोग लगाउनुपर्ने अडान राखेको भए पनि यता कांग्रेस सभापति महाअभियोगका पक्षमा नभएकाले त्यो सम्भव हुन सकेन। यदि अहिले अब गृहमन्त्री लेखकको राजीनामाको बटम लाइन रास्वपाले बनाउने हो भने दुवैले राजीनामा दिनुपर्ने परिस्थिति निर्माणका लागि कांग्रेस नै लाग्न सक्नेछ।’
उक्त समयमा संसदमा सांसद रामहरी खतिवडाले संसदसँग सम्बन्धित नभएका व्यक्तिलाई सिफारिस गरिनुले देशको अपमान भएको भन्दै उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका थिए।