Sagun Khabar
पूरा हुँदै उज्यालो पञ्चेश्वरको सपना 

बैतडी–बैतडीको पञ्चेश्वरमा ‘उज्यालो पञ्चेश्वर’को सपना पूरा हुँदै गएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेसंगै उज्यालो पञ्चेश्वरको सपना पूरा हुने तयारी रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोही अनुसार कार्यक्रम अघि बढेको उनले बताए । 

पञ्चेश्वर गाउँपालिकाको वडा नं २ मा केही दिनभित्रै बिजुलीबत्ती बाल्ने तयारी भएको अध्यक्ष चन्दले बताए । 

पञ्चेश्वर गाउँपालिकामा आर्थिक बर्ष २०७७÷७८ देखि नेपाल विद्युत प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको छ । ४ करोड ९३ लाखको ठेक्कामार्फत पञ्चेश्वरमा विद्युतीकरणको काम भइरहेको अध्यक्ष चन्दले बताए । 

गाउँपालिकाभित्र ५ हजार घरधुरी रहेकोमा ४ हजार बढी घरधुरीमा विद्युत सेवा पुगिसकेको अध्यक्ष चन्दले बताए । गाउँपालिकामा पूर्ण विद्युतीकरणका लागि नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसंग छलफल गरेपछि विद्युतीकरणको काम अघि बढेको अध्यक्ष चन्दले बताए । उनले भने, ‘हामीले पञ्चेश्वरका सबै घरधुरीमा विद्युत पुर्याउने सपना अघि सारेका थियौं । अब लगभग त्यो सपना पूरा हुन थालेको छ ।’

भारतसंग सीमा जोडिएको पञ्चेश्वरका बासिन्दा पारीपट्टीको उज्यालो हेरर आफ्नोतिर कहिले बिजुली पुग्ला भनेर सोचीराख्थे । तर अब प्रत्येक गाउँघरमा विद्युत सेवा विस्तार भइसकेको स्थानीय मोहनसिंह घटालले बताए । उनले भने, ‘भारतसंग सीमा जोडिएको महाकाली छेउसम्म केन्द्रीय प्रशारण लाइन पुगेको छ । यसले स्थानीयबासिन्दाहरु निकै खुसी भएका छन् ।’

गाउँपालिकाले समन्वय गरेर विद्युतको केन्द्रीय प्रशारण गाउँगाउँमा पुर्याउन सफल भएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । उनले भनिन्,‘हामीले विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरेका छौं । पञ्चेश्वरबासी सबै घरमा बिजुली पुगोस भन्ने हाम्रो चाहना थियो । हाम्रो चाहना पूरा हुने तयारीमा छ ।’

विद्युतीकरणको काम निर्माण कम्पनीमार्फत भइरहेकाले यो असारभित्र सबै घरधुरीमा विद्युतको केन्द्रीय प्रशारण पुग्ने अपेक्षा गरिएको अध्यक्ष चन्द बताउँछन् । तर विभिन्न कारणले विद्युत विस्तारमा केही ढिलाई भइरहेको उनले बताए । 

पञ्चेश्वरका सबै वडामा विद्युत विस्तार भएपछि स्थानीय नागरिकहरुलाई सहज भएको छ । विद्युत विस्तार भएपछि कुटानीपिसानी मिल सञ्चालनदेखि अन्य कामहरुमा सहज भएको स्थानीय नारायणराम सार्कीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update