Sagun Khabar
राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाण्डौ – सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा नियुक्त गरेको हो ।

यसअघि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिश समितिले तीन जनाको नाम गभर्नरका लागि मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो । समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।

सिफारिश भएका नाममध्ये पौडेललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । योसँगै झन्डै डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदले पूर्णता पाएको छ ।

यसअघि सर्वोच्च अदालतले आजै अर्थशास्त्री डा. विश्वनाथ पौडेललाई गभर्नर बन्ने बाटो खुला गरिदिएको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update