बैतडी –सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा शुक्रबार देखि सुरु भएको छ । पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । गौरा पर्वको पहिलो दिन आइतबार घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।
भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट शुरु हुने यो पर्व यो बर्ष भाद्र कृष्ण पक्षमा परेको छ । गौरा पर्वको शुरुवात बिरुडा पञ्चमीबाट शुरु भएको छ । दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ शंकरपुरकी हरिना अवस्थीले बताइन् । उनले भनिन् ‘हामी ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर बिरुडा भिजाएका छौं । बिरुडा भिजाएसंगै गौरापर्वको शुरुवात भएको छ ।’
गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत उनले बताइन् ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका छन् ।
यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरुस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ ।
गौराको समयमा विभिन्न खालका ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत लगायतका खेलहरु पनि खेल्ने गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का गणेश बोहराले बताए । तर कोरोना भाइरसका कारण गत बर्षदेखि गौराको रौनक कम भएको छ । उनले भने ‘गौराको समयमा टाढाटाढाका दाजुभाई दीदीबहिनीहरुसंग पनि भेट हुन्थ्यो । तर कोरोनाका कारण यो बर्ष त्यस्तो अवस्था छैन् ।’