Sagun Khabar
बैतडीको ‘धुनी जात्रा’–जहाँ धामी काँपेर तातेको पन्यू चाट्छन् 

बैतडी –बैतडीको मेलौली नगरपालिका–५ महारुद्रमा बौद्ध पूर्णिमाको अवसरमा धुनी जात्रा लागेको छ । वैशाख शुक्ल नवमीमा शुरु भएको धुनीजात्रा बौद्ध पूर्णिमासम्म मनाइन्छ । यो जात्रामा धामीहरूले आगोमा तताएर रातो बनाएको फलामको पन्युलाई चाट्ने गर्दछन् । 

धामीहरुले काँपेर पन्यू चाट्ने प्रचलन नै जात्राको मुख्य आकर्षण रहेको स्थानीय संस्कृतिका जानकार गोपालराम पोखरेलले बताए । उनले भने ‘देवीको शक्तिको रुपमा धामीहरूले तताएको पन्यू चाट्ने गर्दछन् । उनीहरूलाई केही पनि हुँदैन । तताएको पन्यू जिब्रोमा राखेर चाट्ने गर्दछन् । यो पहिलादेखिकै चलन हो ।’

Atrya hospital

यो जात्रामा शितलादेवीको रुपमा भगवतीको पूजाआजा गरिने मेलौली नगरपालिका वडा नं –५ का स्थानीय बलभद्र दयालले बताए । १८ औं शताब्दीबाट यो क्षेत्रमा धुनी जात्रा मनाउने प्रचलन रही आएको उनले बताए । उनले भने ‘धुनी जात्रामा सहभागी हुनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गर्दछन् । देवीको शक्तिले परापूर्वकालमा शितला रोग निको भएकाले शितलादेवीको पूजाआजा गर्ने गरिएको छ ।’

धुनीजात्रामा दलित, ब्राह्मण, क्षेत्री सबै समुदायका मानिस एकै ठाउँमा जमा भएर पूजाआजा गर्ने चलन रहेको  दयालले बताए । उनले भने ‘समाजमा रहेको छुवाछुत हटाउन पनि यो जात्रा निकै सहयोगी बनेको छ । हामी सबै जातजातीका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गर्दछौं । जात्रामा सबै समान हिसाबले सहभागी बन्छौं । यो जात्रालाई सामाजिक सद्भावको जात्रा भन्दा पनि हुन्छ ।’

धुनीजात्रामा हरेक दिन भगवतीको विशेष पूजाआजा हुने गर्दछ । दमाहा बजाउने र धामी काप्ने तरीका नै यो जात्राका आकर्षण मानिन्छन् । धुनीजात्राको दर्शन तथा अवलोकनका लागि सैयौंको भीड लाग्ने गर्दछ । आगोको धुनी वरीपरी धामीहरू काँपेका दृश्य देखिन्छन् भने आगोमा तताएको पन्यु चाट्ने धामी हेर्नेहरूको समेत भीड लाग्ने गरेको छ ।

धुनीजात्रामा शीतलादेवीको पूजाआजा गरेमा रोगव्याधी नष्ट हुने जनविश्वास रही आएको छ । दयालले भने,‘यसको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकहरूलाई भित्र्याउन सकिन्छ । दैवीशक्तिको शाश्वत उदाहरण पनि धुनी जात्रा हो । समान्य मानिसले तातो पन्यु जिब्रोमा राख्न सक्तैन । धामी काँपेर तातो पन्यु मजाले जिब्रोमा राख्ने गर्दछन् ।’

मेलौली नगरपालिकाको अन्य ठाउँमा भगवतीको पूजाआराधना गर्दै धुनी जात्रा मनाउने गरिएको स्थानीय सुरत पार्कीले बताए । धुनी जात्रालाई बिशेष जात्राको रुपमा लिने गरिएको उनले बताए । 

नवमीका दिन शुरु भएको जात्रा पूर्णिमा दिन भगवतीको बिशेष पूजाआराधना गरेर समापन गर्ने गरिन्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update