
बैतडी–जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेमसिंह भाट नेकपा एमालेमा फर्किएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट पाटन नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भाट एमाले फर्किएका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएपछि उनी माओवादी केन्द्रको कोटाबाट सदस्य बनेका थिए ।
२०७९ सालको निर्वाचन अघि एमालेमै रहेका भाट शनिबार पाटनमा राष्ट्रिय युवा संघ नेपालको जिल्ला अधिवेशन उद्दघाटन सत्रमा एमालेमा फर्किएका हुन् । भाटलाई नेकपा एमाले बैतडीका इन्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेश विकले संयुक्त रुपमा खादा लगाएर पार्टीमा स्वागत गरेको नेकपा एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
पाटनका दुई ओटा विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष रहेका भाट २०७५ सालमा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट पत्रकार महासंघ बैतडीको अध्यक्ष समेत भएका थिए । अध्यक्ष हुनुभन्दा पहिला उनी कांग्रेस निकट मानिएका थिए ।
२०७९ सालमा भएको स्थानीय तहको चुनावमा एमालेले वडा अध्यक्षको टिकट अनुकुल व्यक्तिलाई नदिएको भन्दै माओवादी र कांग्रेसको गठबन्धनबाट हसिया हथौडा चुनाव चिन्ह लिएर चुनाव जितेका थिए ।
पार्टीमा प्रवेश गरेपछि बोल्दै उनले आफुले लामो समय नेकपा एमाले बैतडी र वडा कमिटिको लागि काम गरेको बताए ।
उनले बुवा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दा समेत आफूले घरको सबै भोट एमालेका लागि हाल्न लगाएको सुनाए ।