Sagun Khabar
भोलिदेखि हुने भनिएको कक्षा १२ को परिक्षा सर्‍यो , अब कहिले होला ...?

काठमाण्डौ – भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो २१ गतेदेखि गर्ने गरी परीक्षा १० दिन सारेको हो ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा यसअघि तोकिएको मितिमा हुन नसकेको हो ।

परीक्षा कसरी गर्ने अन्योलकैबीच हिजो बसेको बोर्ड बैठकले विभिन्न संयन्त्र परिचालन गर्ने निर्णय गरेको थियो । तर दिनभर अनेक छलफल गरे पनि परीक्षा सञ्चालनको ठोस आधार नभएपछि परीक्षा सार्ने निर्णयमा बोर्ड पुगेको हो ।

Atrya hospital

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले आउँदो २१ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा सार्ने निर्णय भएको बताए।

हिजो बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले नै परीक्षा सार्न सुझाव दिनुभएको हो । त्यसअघि हिजो बिहानको बोर्ड बैठकले निजामति कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्न असहज हुने बताएका थिए ।

बोर्डका अध्यक्ष शर्मासहितको टोलीले प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिनुभएको र निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत २० गतेदेखि विभिन्न माग राखेर शिक्षक महासङ्घले काठमाण्डौ केन्द्रित आन्दोलन र शैक्षिक हडताल गर्दै आएको छ ।

आन्दोलनको आज २२ दिन पुगेको छ । गएको शनिवारसम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएकोमा उनीहरुले आइतवारदेखि बिहान ९ देखि १२ बजेसम्म आन्दोलन गरे ।

आज समय हेरफेर गरि ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update