Sagun Khabar
पाटनमा महिलाहरुका स्वास्थ्य शिविर सम्पन्न, ५० प्रतिशतको प्रजनन प्रणालीमा संक्रमण

 बैतडी –बैतडीको पाटन नगरपालिकाका तीनओटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएकामध्ये ५० प्रतिशतमा पिआइडी समस्या देखिएको छ । 

महिलाहरुका लागि पाटन नगरपालिकाको आयोजना र नेपाल मेड जर्मन संस्थाको सहयोगमा सञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका मध्ये ५० प्रतिशत महिलामा प्रजनन प्रणालीमा संक्रमण अर्थात पिआइडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताए । 

यही चैत २२ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्र, चैत २३ गते सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र चैत २४ गते वसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो । तीनै ठाउँमा झण्डै पाँच सय जना महिलाहरुले सेवा लिएका नेपाल मेड जर्मन संस्थाका सम्पर्क व्यक्ति महेन्द्र जोशीले बताए । 

Atrya hospital

शिविरमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. निता तिमिल्सिना, डा. रेजिना खड्का, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर बिष्ट लगायतको स्वास्थ्यकर्मीहरुको टीमले सेवा दिएको थियो । 

पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्क लगायतका कारणले प्रजनन प्रणालीमा संक्रमणको समस्या देखिने गरेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भट्टले बताए । उनले भने, ‘शिविरमा आएका मध्ये ५० प्रतिशत महिलामा पिआडीको समस्या देखिएको छ । शिविरमा यस्तो समस्या देखिएकाहरुको उपचार गरिएको छ ।’

यस्तै शिविरमा उपचारका लागि आएका मध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असमान्य रुपमा रक्तश्राव हुने समस्या देखिएको भट्टले बताए । पाठेघरमा मासु पलाउने, हार्मोन गडबडी लगायतका कारणले यस्तो समस्या देखिने गरेको उनले बताए । असमान्य रुपमा रक्तश्राव हुने समस्या देखिएका चार जनालाई सुविधा सम्पन्न अस्पातलमा उपचारका लागि रेफर गरिएको छ भने दुई जनामा क्यान्सरको आशंका गरिएकाले उनीहरुलाई पनि थप उपचारका लागि रेफर गरिएको भट्टले बताए । 

यस्तै शिविरमा आएका मध्ये ५ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । ती मध्ये ३ जनालाई अप्रेशनका लागि सिफारिश गरिएको छ भने अन्यलाई रिङ पेसरी राखेर उपचार गरिएको भट्टले बताए । गर्भावस्थामा गह्रौं भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौं भारी बोक्नु, जन्मान्तर कम हुनु लगायतका कारणले महिलाहरुमा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

यस्तै शिविरमा आएका १५ प्रतिशतमा महिलाहरुमा पिसाब नलीको संक्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनु लगायतका कारणले उनीहरुमा यो समस्या देखिएको बताइएको छ । 

यस्तै शिविरमा आएका मध्ये १० प्रतिशतमा ग्यास्ट्रीकको समस्या देखिएको छ । समयमा खाना नखानु, खाली पेटमा दुध चिया पिउनु, भोको बस्नु लगायतका कारणले ग्यास्ट्रीकको समस्या बल्झिने गरेको डाक्टर तिमिल्सिनाले बताइन् । 

शिविरमा उपचारका लागि आएका महिलाहरुको अल्ट्रासाउण्ड गर्दा केहीमा पत्थरीको समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर बिष्टले बताए । यस्तो समस्या देखिएकाहरुलाई प्रशस्तमात्रामा पानी पिउनुपर्ने सुझाव दिएको छ । 

गाउँघरकै स्वास्थ्य संस्थाहरुमा बिशेषज्ञ चिकित्सकहरुबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन संस्थाले सहयोग गरिरहेको नेपाल मेड जर्मन संस्थाका सम्पर्क व्यक्ति जोशीले बताए । यो शिविरले केही हदसम्म महिलाहरुलाई सहयोग पुगेको र आगामी दिनमा समेत शिविरका लागि पहल गरिने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update