Sagun Khabar
वरिष्ठ पत्रकार भैरव रिसालको निधन 

काठमाण्डौ – वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा गएराति निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै निधनपछि आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । त्यही भएर उनको शव पाटन अस्पताललाई दिइएको र दाहसंस्कार नहुने परिवारजनले जनाएको छ ।

Atrya hospital

वरिष्ठ पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । 

२०१३ सालमा हालखबर दैनिकबाट पत्रकारिता थालेका रिसालले २०५६ सालदेखि रेडियो सगरमाथामा कुरोकन्थो कार्यक्रम चलाएका थिए । त्यस्तै रेडियो सगरमाथामा लामो समयसम्म ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला पनि सञ्चालन गरेका थिए । 

वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमचुनावमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । 

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । 

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए । 

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् ।

रिसालले ९७औँ जन्मदिनका अवसरमा गएको साउनमा ‘भैरव रिसालका छानिएका रचना– २’ तथा ‘बितेका कुरा’ र ‘अविश्रान्त भैरव’ कृति सार्वजनिक गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update