
कैलाली –नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन् । कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा धनगढी आउने भएका हुन् ।
कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी आउने बताइएको छ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सोमबार बिहान सभापति देउवाका महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताए ।
नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्का, सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लगायतका नेताहरू आइतवार नै धनगढी आउने उनले बताए । धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा कांग्रेसको प्रदेश सम्मेलन हुँदैछ ।
पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।