
सुरेश अवस्थी-बैतडी, फागुन ४—सिगास गाउँपालिका–१, अङडेगाडा गाउँ। सिमसिमे हावाले मनमा शून्यता थपिरहेको थियो। ३० वर्षीय प्रकाश टेलर आमाको पार्थिव शरीर अगाडि राखेर मलामीको प्रतीक्षामा बसेका थिए। तर, गाउँभरि मानिस भए पनि कोही मलामी जान तयार भएनन्। समाजले बनाएको जातको पर्खाल यति कठोर रहेछ कि आमाको शव उठाउनसमेत कोही आएन।
प्रकाशकी आमा ६१ वर्षीया माना टेलर मधुमेहबाट पीडित थिइन्। शनिबार बिहानै उनको निधन भयो। शोकले भिजेको घरमा आफन्त र छरछिमेकी उपस्थित भए, तर मलामीको पंक्तिमा कोही पनि उभिएनन्। दमाई जातिको घरमा मृत्यु हुँदा पनि समाज त्यही पुरानै सोचको जन्जिरमा बाँधिएको थियो।
गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, लोहार, चुनारा, सार्की जाति थिए। तर, दलितभित्रकै विभाजनले गर्दा मानाको शव उठाउन कोही राजी भएन। प्रकाशले भक्कानिँदै भने, “मलामी जाने कोही भए आधा घण्टाको दूरीमा रहेको ढणालीगाडमा आमाको अन्त्येष्टि गर्न सकिन्थ्यो। तर, यो जात व्यवस्थाले आमाको शव उठाउन नसक्दा म एक्लिएको महसुस गरिरहेको छु।”
प्रकाशका ७२ वर्षीय बुबा श्रीमतीको मृत्युपछि शिथिल बनेका छन्। शरीरले साथ नदिने भएकाले ओछ्यानमै लडिरहेका छन्। प्रकाश आफैं भूमिराज आधारभूत विद्यालयमा निजी स्रोतको शिक्षक। समाजलाई शिक्षाको उज्यालो दिन्छन्, तर उनको आफ्नै घरमा मृत्युको घडीमा समाजले उनलाई साथ दिएन।
गाउँमा सैयौं मानिस भए पनि मानाको शवलाई काँध दिने कोही भएन। प्रकाशले हार मानेनन्। उनले पुर्ख्यौली गाउँ पाटन नगरपालिका–४, बगाडीमा रहेका आफन्तलाई फोन गरे। कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट दाजुभाइहरू आउँदैछन् भन्ने खबर पाएपछि मात्र प्रकाशको मन केही हल्का भयो।
“गाउँलेहरूले सान्त्वना दिएका छन्, साथ दिएका छन्। तर शव उठाउने आँट गरेनन्,” प्रकाशले पीडा पोखे। स्थानीय ज्ञानेन्द्र ऐरी भन्छन्, “यहाँ जातीय भेदभाव कायमै छ। सहयोग गर्न सबै अघि सर्छन्, तर शव छुन मान्दैनन्। प्रकाश सरका अरू आफन्त गाउँमा नहुँदा समस्या झन् बढ्यो।”
वडाध्यक्ष रामचन्द्र ऐरीले भने, “जातकै कारण मलामी नपाएको हो कि होइन भन्नेबारे विस्तृत बुझ्नुपर्छ। परिवारले गाडीको व्यवस्था गरिदिन आग्रह गरेका थिए, हामीले पाटन नगरपालिकासँग सहयोग मागेका छौं।”
आफ्नै आमाको शव उठाउन मानिस नपाउँदा प्रकाशले गाडीको खोजी थाले। दिनभरि प्रयास गर्दा पनि कुनै गाडी सहजै पाइएन। स्थानीय बासन्त विश्वकर्माले साँझ आठ बजेतिर आफ्नै ट्र्याक्टर दिने सहमति जनाएपछि बल्ल मानाको शव घाटसम्म पुर्याउने सम्भावना बनेको थियो।
“शव बोक्न मान्छे नभएपछि गाडी नै खोज्नुपर्यो,” प्रकाशले भने, “अब आइतबार दाहसंस्कार गर्नेछौं।”
यो केवल एउटा घटनामात्र होइन, जातीय विभेदको कठोर वास्तविकता हो। मृत्युपछि सबै समान हुन्छन् भनिन्छ, तर यहाँ समाजको सोच अझै पनि बाँझिएको देखिन्छ। प्रकाश टेलर शिक्षक भएर समाजलाई शिक्षित बनाइरहेका छन्, तर उनको आफ्नै समाजले उनलाई अपहेलित गर्यो।
कति दिन अझै यस्तो अन्याय सहनुपर्ने? कति आमाहरूको शव यस्तै गरी एक्लिँदै जानुपर्ने? जबसम्म समाजले यी पर्खालहरू भत्काउने साहस गर्दैन, तबसम्म हरेक पुस्ताले यस्ता कहर सहनुपर्नेछ।
आज मानाको शव उठेन, भोलि अर्को कसैको पालो पक्कै आउँछ। तर, प्रश्न उहीँ छ— के हाम्रो समाज कहिल्यै बदलिने छैन?