
कैलाली – शिक्षाविद् एवं कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर हेमराज पन्तलाई धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर पन्तलाई आज बिहान ८ बजे नागरिक अभिनन्दन गरेको हो । शिक्षा क्षेत्रमा पन्तले पुर्याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको नगर प्रमुख गोपाल हमालले बताए । धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहण गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको छ ।
नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरे । नगरप्रमुख हमालले शिक्षाविद् पन्तले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए । धनगढीको ट्राफिक चौराहबाट बाजागाजासहित प्राध्यापक पन्तलाई पार्कमोडसम्म ल्याइ एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई अभिनन्दन गरिएको हो । पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् । सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ ।