
कैलाली –भीम रावलले धनगढीमा जागरण भेला आयोजना गर्ने भएका छन् ।
मातृभूमि जागरण अभियान संचालन गरिरहेका रावलले जागरण भेला गर्ने जानकारी दिएका हुन् ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने बताए ।
कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थिति हुन सक्ने उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।
उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरेका छन् ।