बैतडी–सुरेश अवस्थी–स्वास्थ्य कार्यालय बैतडीले आइतबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्य क्षेत्रमा हालसम्म भएका कार्य र आगामी सुधार योजनाका बारेमा जानकारी गराएको छ । कार्यक्रममा चालु आर्थिक वर्षमा सम्पादन भएका कामहरू तथा जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको हो ।
अन्तरक्रियाका क्रममा अधिकांश स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूले कर्मचारी अभाव रहेको गुनासो गरे । कर्मचारी व्यवस्थापनमा देखिएको प्रत्यक्ष राजनीतिक हस्तक्षेपले स्वास्थ्य सेवामा असर पारिरहेको कुरा पनि अन्तरक्रिया कार्यक्रममा उठाइयो । कतिपय अवस्थामा स्वास्थ्य कर्मचारीहरूले पनि राजनीतिक नेतृत्वको संरक्षणमा अटेर गर्ने प्रवृत्ति बढेको गुनासो आएको थियो ।
यस्तै औषधि आपूर्तिमा देखिएको समस्या पनि छलफलको मुख्य विषय बन्यो । समयमा औषधि खरिद गर्न नसकिने, बजेट अभाव हुने र संघ तथा प्रदेश सरकारको समन्वय कमजोर रहेको गुनासो स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुले गरे । कतिपय स्वास्थ्य केन्द्रमा आधारभूत औषधि उपलब्ध हुन नसक्दा बिरामीहरूले असहज परिस्थिति भोग्नुपरेको जानकारी गराइयो ।
यस्तै, स्थानीय तहमा तलब नपाउने समस्या रहेको कुरा अन्तरक्रियामा सहभागी स्वास्थ्य शाखा प्रमुखहरुको गुनासो पनि सार्वजनिक गरियो । कतिपय स्वास्थ्य संस्थामा लगानी भए तापनि आवश्यक व्यवस्थापनको अभावले सेवा प्रभावकारी बन्न नसकेको कुरा उठेको थियो ।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले स्वास्थ्य सेवाको पारदर्शिता बढाउने, औषधि आपूर्तिको विश्वसनीय प्रणाली बनाउने, कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य संस्थाहरूको पूर्वाधार सुधार्ने विषयमा सुझाव दिएका थिए ।
स्वास्थ्य क्षेत्रमा गरिएका राम्रा प्रयासहरुको बारेमा पनि आम नागरिक सम्म प्रभावकारि ढङ्गले जानकारि गराउन नसकेको स्वास्थ्य र सञ्चारलाई एक ढिक्का बनाउन नसकिएको स्मरण गराउदै गरेका कामहरु सर्वजनिक गरि स्थानीय स्थरका मिडिया तथा पत्र–पत्रिकाहरुमा ल्यउन जरुरी रहेको जानकारी गराए ।
कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यसमा सबैले दत्तचित्त भएर काम गर्नुपर्ने बताए । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउन सबै तहले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले गुणस्तरीय स्वास्थ्य सेवा आजको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारीहरूले यो विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य सेवा सुधारका लागि सरकार, स्वास्थ्यकर्मी र स्थानीय निकायबीच समन्वय आवश्यक रहेको बताए ।
स्वास्थ्य सेवा सुधारका लागि नयाँ अभ्यासहरू पनि लागू गरिएका छन् । समुदायस्तरमा स्वास्थ्य सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका छन्, जसले मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगहरूको रोकथाममा मद्दत पु¥याएको छ ।
बैतडीको स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको ठहर कार्यक्रममा गरिएको थियो । सरकारी संयन्त्रको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य सेवा सहज रूपमा सम्प्रेषण गर्ने उपायहरू खोजी गर्नुपर्ने निष्कर्ष सहित आजका कार्यक्रममा उठेका समग्र बिषयहरुमा स्वास्थ्य कार्यालयले निभाउनु पर्ने भुमिकामा कार्यालयको तर्फ बाट कुनै कसर बाँकी नराखिने कार्यालयका सुचना अधिकारि विपिन लेखक तथा स्वास्थ्य कार्यालय बैतडीका निमित्त प्रमुख हरिश भट्टले जानकारि गराए ।
समग्रमा, स्वास्थ्य सेवा सुधारका लागि केही सकारात्मक अभ्यास भए पनि अझै धेरै सुधार गर्नुपर्ने आवश्यक देखिन्छ । राजनीतिक हस्तक्षेप, कर्मचारी अभाव, औषधि आपूर्तिमा देखिएका समस्या तथा वित्तीय व्यवस्थापनमा पारदर्शिता अभाव जस्ता विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने आवश्यक छ ।