Sagun Khabar
अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा छानबिनका लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

बैतडी-अछाममा दुई किशोरीको मृत्यु भएको घटनाबारे सत्यतथ्य छानबिनका लागि गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।

जिल्लाका तीन जना जनप्रतिनिधिहरूले सोमबार गृहमन्त्री लेखककै निवासमा पुगेर घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै छानबिनका लागि आग्रह गरेका हुन्। ध्यानाकर्षण पत्र बुझाउने टोलीमा पूर्वमन्त्री तथा अछाम–१ का सांसद शेरबहादुर कुँवर, अछाम–२ का सांसद पुष्पबहादुर शाह, र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने रहेका थिए।

Atrya hospital

गृहमन्त्री रमेश लेखकले आफूले सुरुदेखि नै घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। नगरप्रमुख अम्बिका चलाउनेका अनुसार, गृहमन्त्रीले घटनाको छानबिनमा कुनै कसर बाँकी नराख्ने आश्वासन दिएका छन्। उनले प्रहरीमार्फत सुक्ष्म रूपमा अनुसन्धान सुरु भइसकेको जानकारी पनि गराएका छन्।

अछामको ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको शव गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो। घटनाको वास्तविक कारण पत्ता लगाउन मृतकहरूको शव भेरी प्रादेशिक अस्पताल, नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ।

दुई किशोरीको रहस्यमय मृत्युले अछाममा स्तब्धता छाएको छ। परिवारजन र स्थानीयले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन जोडदार माग गरेका छन्। छानबिनमा ढिलाइ वा लापरबाही भए न्यायमा अवरोध पुग्ने चिन्ता जनाइएको छ।

स्थानीय जनप्रतिनिधिहरूले घटनाको वास्तविकता उजागर गर्दै पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्। घटनाले महिला तथा बालिकाको सुरक्षामा गम्भीर प्रश्न उठाएको भन्दै प्रहरी प्रशासनले चाँडो निष्कर्षमा पुग्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update