बाजुरा –बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य गरिएको छ ।
जिल्लामा आवश्यक भन्दा बढी नुन प्रयोग हुन थालेपछि नागरिकहरुलाई वडाको सिफारिस अनिवार्य गरिएको हो । नागरिकताका आधारमा सहुलियत दरको नुन उपलब्ध गराउने गरिएकोमा सो नुन जिल्लाबाहिर पठाउने गरिएको पाईएपछि वडाको सिफारिस लिन थालिएको साल्ट ट्रेडिङ बाजुराका कार्यालय प्रमुख टेक बोहराले जानकारी दिए ।
आवश्यकताभन्दा बढी मात्रा नुन खपत हुन थालेपछि सर्वपक्षीय बैठक बसेर वडा कार्यालयको सिफारिश अनिवार्य गर्ने निर्णय गरिएको बोहराले बताए । बाजुराको मार्तडी, कोल्टी, मौरै, कवाडी नुन डिपो र डोगडी, गौमूल, धुलाचौर र बेर्मा अस्थायी वितरण केन्द्रबाट सहुलियतदरको नुन विक्रिवितरण भइरहेको छ ।
नेपाल सरकारले बाजुरा, अछाम, बझाङ, हुम्ला, मुगु, कालीकोट, डोल्पा, जुम्ला र जाजरकोटमा सहुलियत दरमा प्रतिकेजी नौ रुपैयाँका दरले नुन उपलब्ध गराउँदै आएको छ । नुनको बजारमूल्य प्रतिकेजी २५ रुपैयाँ रहेको छ ।