काठमाण्डौं –भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाटस्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेबल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गरेका छन् ।
उनले भारतीय विदेश मन्त्री यश जयशंकरसंगको भेटमा पुल निर्माणको काम चाडै शुरुवात गर्न आग्रह गरे । विदेश मन्त्री जयशंकर पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाएका छन् ।
मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानका विषयमा पनि छलफल गरेका छन् । यस्तै कञ्चनपुरस्थित दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ ।
मन्त्री भण्डारीले गत साउनमा पहिलो पटक भारत भ्रमण गर्दा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन निर्माणको पहल गरेका थिए । फलस्वरूप भारतले नेपाललाई उक्त परियोजनाका लागि १५ अर्ब रकम अनुदान दिन औपचारिक रूपमा सहमति गरेसँगै परियोजना निर्माणको काम अघि बढेको छ । अहिले उक्त परियोजनामा नेपाल र भारत पक्षले आ–आफ्नो तहबाट काम गरिरहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ ।
उद्योग मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’ सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताएका छन् । उनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरिएको मन्त्री भण्डारीको भनाइ । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठुलो स्रोत देश रहेको उनले बताए ।