कैलाली – जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुई जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको उमेदवारी परेको हो ।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएका पदम बहादुर कलेलको २०७९ सालको पुस २३ गते निधन भएपछि सो पदमा उप निर्वाचन हुन लागेको हो । सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन् । एमालेले काँग्रेसकी भुललाई मतदान गर्ने भएको छ । भुल कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।
भुलको प्रस्तावकमा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन् भने उनको समर्थकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रहेकी छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट पनि रुपमती डँगौरा थारुले मनोनयन दर्ता गराएकी छन् । उनको प्रस्तावकमा रेखादेबी कठरिया रहेकी छन् भने समर्थकमा राजु तिरुवा रहेका छन् । कठरिया टीकापुर नगरपालिका वडा नम्बर ४ बाट महिला वडा सदस्यमा विजयी हुन् ।
१३ वटा स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा २६ मत भार हो । अहिले एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ । नाउपासँग ७, नेकपा माओवादीसँग ३, समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ ।
नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ । काँग्रेस ८ र एमाले ५ मतभारका साथमा १३ मतभार ल्याएर विजयी हुने देखिन्छ ।