Sagun Khabar
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति 

पोखरा –सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि सहित छविलाल जोशी र लीला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।  उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

Atrya hospital

अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आजै उपस्थित गराइएको थियो । ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update