Sagun Khabar
तीन महिनामा थपियो १ खर्ब ३६ अर्ब रुपैयाँ सार्वजनिक ऋण

काठमाण्डौ – देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्ममा तिर्न बाँकी ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार तीन महिनामा १ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण बढेको छ । जसमा १ खर्ब १५ अर्ब आन्तरिक ऋण र २१ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण थपिएको हो । यस अवधिमा सरकारले ६९ अर्ब रुपैयाँ ऋण तिरेको छ । असोज मसान्तसम्म सावाँ र ब्याज गरेर ८३ अर्ब ७ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयले जनाएको छ ।

Atrya hospital

कार्यालयका अनुसार विदेशी विनिमयदरमा भएको परिवर्तनले भदौसम्मको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको छ । यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३६ अर्ब ३० करोड छ भने बाह्य ऋण १२ खर्ब ८६ अर्ब ७३ करोड रुपैयाँ छ । असारसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ भने २ खर्ब १७ अर्ब रुपैयाँ वैदेशिक ऋण आउने अनुमान गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update