Sagun Khabar
दार्चुला तुइन घटना : गृहको छानबीन समितिले काम थाल्यो 

दार्चुला –महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईन काटेपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरि घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसँग छलफल गरेको छ ।

मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसँगै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य रहेका छन् । समितिले घटनास्थलमा जानुभन्दा पहिले दार्चुला सदरमुकाम खलंगामा प्रत्यक्षदर्शीहरुलाई भेटेर बयान लिनुका साथै सरोकारवालाहरुका सुझाब समेत संकलन गरेको छ । छलफलमा सहभागि पत्रकार र मानवअधिकारकर्मीहरुले घटनालाई तोडमोड नगरेर सत्यतथ्य बाहिर ल्याउन, दोषीलाई कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न अनुरोध गरेका छन् ।

Atrya hospital

समितिले घटनास्थल पुगेर फर्किएका सुरक्षाकर्मी र जिल्लास्थित अन्य सरकारी अधिकारीसँग छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका डिएसपी वीरसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोली स्थलगत निरीक्षणका लागि खटिएको थियो । घटनास्थल पुगेका ती अधिकारीसँग गृहको छानबिन समितिले थप विवरण लिएको छ । सरोकारवालाहरुसँगको छलफलको क्रममा समिति संयोजक गौतमले सत्यतथ्यको नजिक पुगेर घटनाबारे वास्तविक प्रतिवेदन सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरे । 

छानबिन टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । तुइन तर्दै गर्दा एसएसबीका जवानले डोरी फुकालिदिएपछि धामी महाकालीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । तीन दिनदेखि प्रतक्षदर्शीहरुलाई समेत सम्पर्क विहिन बनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update